TRENDING

फिनालिसिमाः अर्जेन्टिनाविरुद्ध उत्रँदा इटालीले विश्वकपको दुखद यात्रा बिर्साउला?

काठमाडौँ – सन् २०२० को युरोपियन च्याम्पियनशीपको फाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि इटालीले बुधबार पहिलो पटक वेम्बली स्टेडियममा उत्रँदैछ । उसले यस पटक ‘फिनालिसिमा’ अर्थात कोपा अमेरिका च्याम्पियन र युरोपियन च्याम्पियन टिमबीच हुने खेलका लागि अर्जेन्टिनाको सामना गर्नेछ ।

इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको उक्त घटना इटालीका लागि इतिहास बनिसकेको छ । अझ कतारमा यसै वर्ष हुने फिफा विश्वकपका लागि छनोट हुन असफल भएपछि समग्र रुपमा इटाली र प्रशिक्षक रोवर्टो मानसिनीका लागि अर्जेन्टिनाविरुद्धको खेल कठिन हुने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ २८ वर्षपछि दक्षिण अमेरिकी च्याम्पियन बन्नुका साथै विश्वकपका लागि अपराजित रहँदै छनोट भएको अर्जेन्टिना भने उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

यता इटालीलाई लगातार दोस्रो पटक विश्वकपका लागि छनोट हुन असमर्थ रहेको पीडा छदैछ । दोस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि मानसिनीले राजीनामा दिने बताए । तर उनैलाई पुनः टिम निर्माणका लागि जिम्मा लगाइयो ।

यति हुँदा पनि मानसिनीको टिम भने रक्षात्मक फुटबल, मनोरञ्जन र समूहको भावना वरिपरि घुम्ने अनुमान गरिन्छ । यसको एउटा कारण हो मानसिनीले आफ्नो टिमलाई पुन: निर्माण गर्दा स्क्र्याचबाट भने पक्कै गर्ने छैनन् । र यो उनले फिनिलिसिमाका लागि ३० जनाको टोली घोषणा गर्दा देखियो ।

अहिले इटालीसँग पुराना असफलतालाई बिर्सेर सुरुवात गर्न बलियो आधार छ ।

यता युरोपियन च्याम्पियनशीपको उपाधि उचालेका कप्तान जियोर्जियो चिलिनीले बुधबारको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिदै छन् । १ सय १७ खेलमा ८ गोल गरेका चिलिनीले ऐतिहासिक वेम्बली स्टेडियमको खेलसँगै बिदाइ लिदाँवेम्बली स्टेडियमसँगको उनको सम्झना यादगार हुनेछ किनभने जीवनको सबै भन्दा ठूलो उपाधि उनले यही जिते । उनको सन्यास सामान्य भने हुने छैन किनभने यसले इटाली अब युवा खेलाडीहरुमा भरपर्ने समय आएको संकेत समेत गरेको छ ।

त्यसैले इटालीले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सके यसले मानसिनी सही दिशामा रहेको देखाउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Surak Media All right reserved Site By : Himal Creation