TRENDING

फिनालिसिमा : दुई च्याम्पियन अर्जेन्टिना र इटालीको भिडन्त

काठमाडौं । यूईएफए युरो २०२० को विजेता इटाली र सन् २०२१ को कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले आज अर्को ‘फाइनल’ खेल्दै छन्, लन्डको वेम्बली रंगशालामा । जसलाई नाम दिइएको छ, ‘फिनालिसिमा’ ।

फिनालिसिमा इटालियन शब्द हो । फिनालिसिमा अर्थात् ‘ग्रान्ड फाइनल’ । र, योभन्दा उपयुक्त अर्को नाम हुन पनि सक्दैन थियो ।

युरोपको च्याम्पियन र दक्षिण अमेरिकाको च्यम्पियन । दुवै महादेश विश्व फुटबलका ‘पावर हाउस’ हुन् । विश्व क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल सकिएको धेरै भएको छैन । शनिबार राति मात्र च्याम्पियन्स लिगको फाइनल सकिएको थियो । त्यसको चार दिन नबित्दै अर्को रोमाञ्चक फाइनलमा अर्जेन्टिना र इटाली भिड्दै छन् । फुटबलमा दुई सशक्त महादेशका विजेताबीचको भिडन्तलाई फिफाले पनि स्वीकारेको छ ।

इटाली
इटाली फिफा वरीयताको छैटौँ स्थानमा छ । चारपटकको विश्व विजेता इटालीले दुईपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । तर, लगातार दोस्रोपटक इटाली विश्वकपमा स्थान बनाउन असफल रह्यो ।

युरो २०२० मा इटालीले समूह ‘ए’ मा शतप्रतिशत नतिजा निकालेको थियो । अन्तिम–१६ मा इटालीले अष्ट्रियालाई थपिएको समयमा २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ कै नतिजामा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो । अन्तिम चारमा स्पेनलाई हराउन पेनाल्टी सुटआउटसम्म प्रतिस्पर्धा गरेको थियो । इटालीले फाइनलमा पनि इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमै हरायो ।

रोबर्टो मान्सिनीको इटाली आश्चर्यजनक रूपमा विश्वकपबाट बाहिरिएको थियो । नर्थ म्यासेडोनियासँग पराजित भएपछि योपटक इटालीको विश्वकप यात्रा समाप्त भएको थियो । विश्व फुटबलको सबैभन्दा ठूलो रंगमञ्चमा प्रतिस्पर्धा गर्न नपाएका कारण पनि यो फिनालिसिमाको उपाधि महत्त्वपूर्ण हुनेछ ।

विश्वकपमा छनोट हुन नसकेपछि प्रशिक्षक मान्सिनीको भविष्यलाई लिएर इटालीमा ठूलो बहस भएको थियो । तर, खेलाडीको प्रिय पात्र बनेका मान्सिनीलाई निरन्तरता दिन खलाडीले नै दबाब दिए । त्यसलाई इटाली फुटबल संघले नकार्न सकेन । मान्सिनीले निरन्तरता पाए ।

मान्सिनी आफ्नो कार्यकालमा धेरै खेल ४–३–३ को फर्मेसनमा खेलाएका छन् । आज राति पनि मान्सिनीले सोही फर्मेसनमा खेलाउने अनुमान गर्न सकिन्छ । दुवै टिमका खेलाडीले लामो समय सँगै बसेर प्रशिक्षण गर्न पाएका छैनन् । त्यसकारण दुवै प्रशिक्षकले ठूलो जोखिम मोल्ने सम्भावना कम छ ।

पक्कै पनि जियानलुइगी डोन्नारुमा इटालीका नम्बर एक गोलकिपर हुन् । आज पनि उनले पहिलो रोजाइमा स्थान बनाउनेछन् । मिडफिल्डरमा निकोलो बरेला, मार्को भेराट्टी र जर्जिन्होले निरन्तरता पाउनेछन् । यद्यपि, माटेयो पेसिनाको सम्भावना पनि छ । रक्षापंक्तिमा जियोभानी डि लोरेन्जो, लियोनार्दो बोनुची, जर्जियो चिलिनी र इमर्सनले पहिलो रोजाइमा स्थान बनाउने सम्भावना बलियो छ । अग्रपंक्तिमा लोरेन्जो इनसिग्ने, आन्द्रेय बेलोट्टी र फेडरिको बर्नान्डेस्चीको सम्भावना छ ।

इटालीको रक्षापंक्ति सदैव ‘जब्बर’ मानिन्छ । मिडफिल्डमा चेल्सीका जजिन्हो उच्च लयमा छन् । पीएसजीका भेरोट्टीले विपक्षीलाई जति बेला पनि दबाबमा राख्न सक्छन् ।

युरोकपका दौरान इटालीले कीर्तिमानी लगातार १३ खेलमा विजय हासिल गरेको थियो । ३४ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । सबै प्रतियोगिता गरेर अपराजित यात्रा ३७ खेलसम्म लम्बिएको थियो ।

अर्जेन्टिना
अर्जेन्टिना फिफा वरीयताको चौथो स्थानमा छ । दुई विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले १५ पटक कोपा अमेरिकाको उपाधि उचालेको छ ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्केलानीले पनि ४–३–३ कै फर्मेसन अपनाएका छन् । उनकै प्रशिक्षणमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्न सफल भयो । यसअघि, अर्जेन्टिनाले १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिनाले ठूलो प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो ।

कोपा अमेरिकाको समूह ‘ए’ मा रहेको अर्जेन्टिनाले लिग चरणमा एक खेल बराबरी खेलेको थियो । बाँकी तीन खेल जितेको थियो । क्वार्टरफाइनलमा इक्वेडरलाई ३–० ले हरायो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि उपाधि उचाल्यो ।

अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेसी करियरको उत्तरार्द्धमा छन् । उनी आफ्नै नेतृत्वमा देशका लागि अर्को एक उपाधि जित्ने लक्ष्यमा हुनेछन् । अर्जेन्टिनाका प्रायः सबै खलाडी फिट छन् । च्याम्पियन्स लिगका कारण लामो समय क्लबमा बिताउन परेको छैन ।

अर्जेन्टिनामा पनि गोलकिपर इमिलियानो मार्टिनेजले निरन्तरता पाउने सम्भावना बढी छ । रक्षापंक्तिमा युवान फोएथ, निकोलस ओटामेन्डी, मार्कोस अकुना, क्रिस्टियन रोमेरोको सम्भावना बढी छ । मिडफिल्डमा रोड्रिगो डी पाउल, गुइडो रोड्रिग्वेज, जियोभानी लो सेल्सो र अग्रपंक्तिमा लियोनल मेसी, लाउटारो मार्टिनेज र एन्जेल डी मारियाको सम्भावना बढी छ ।

अर्जेन्टिना पछिल्लो ३१ खेलमा अपराजित छ । इटालीविरुद्ध पछिल्ला चार खेलमा अर्जेन्टिनाले विजय हासिल गरेको छ । त्यसमध्ये तीन मैत्रीपूर्ण खेल पछिल्लो समयमा भएको थियो । अर्को खेल भने १९९० विश्वकपको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Surak Media All right reserved Site By : Himal Creation