TRENDING

युक्रेनसँगको ‘भावनात्मक’ खेलका लागि स्कटल्याण्ड तयार

१८ जेठ, काडमाडौं । स्कटल्याण्ड राष्ट्रिय रंगशालाले बुधबार स्कटल्याण्ड र युक्रेनबीच विश्वकप प्लेअफ सेमिफाइनल खेलको आयोजना गर्दैछ ।

रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान आकर्षित गर्नेछ ।

भावनात्मक रुपले हेरिएको यो खेलको विजेताका लागि राष्ट्रिय गौरवमात्र हुने छैन, आइतबार कार्डिफमा वेल्सविरुद्ध हुने फाइनल खेलमा पनि स्थान सुरक्षित हुनेछ ।

स्कटल्याण्ड २४ वर्षपछि पहिलोपल्ट फिफा विश्वकप खेल्ने लक्ष्यमा छ । जवकि युक्रेन सन् २००६ यता पहिलो विश्वकप उपस्थितिको प्रयासमा छ ।

तर, युक्रेनको तयारी मातृभूमिमा चलिरहेको युद्धका कारण कमजोर बनेको छ । त्यही कारणले मार्चमा हुनुपर्ने यो खेल दुई महिना पछि सारिएको हो ।

असहज परिस्थितिका कारण देशका धेरैजसो युवालाई आर्मीमा भर्ती हुन गरिएको आह्वानबीच युक्रेनको फुटबल टिमले एक महिनादेखि स्लोभेनियामा प्रशिक्षण गरिरहेको छ ।

जर्मनी, इटली र क्रोएसियासँगको मैत्रीपूर्ण फुटबलसँगै युक्रेनले छनोट प्रतियोगिताको समूह चरणका ८ खेलमा अपराजित रह्यो । उनीहरु समूह डीमा साविक विजेता फ्रान्ससँग पछि परेपछि प्लेअफमा पुगेका हुन् । समूह चरणमा युक्रेनले २ जित र ६ बराबरीको नतिजा निकालेको थियो ।

स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पाहुना टोली कुनै चिन्ताबेगर खेलका लागि तयार रहने अपेक्षा गरेका छन् ।

‘प्रतिभाशाली खेलाडीको साथमा युक्रेन टिम बलियो छ,’ उनले थपे, ‘युक्रेन एक राम्रो टिम हो । तर हामी पनि राम्रो छौं ।’

स्लार्कको टोली पनि समूह चरणमा डेनमार्कभन्दा पछि रहँदै प्लेअफमा पुगेको हो । उनीहरु पछिल्लो ८ खेलदेखि अपराजित छन् । ‘हाम्रो खेल शैली उस्तै छ । हामी आक्रामक खेल्न मन पराउँछौं,’ उनले थपे, ‘उनीहरु आक्रमणको प्रयास गर्नेछन् ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Surak Media All right reserved Site By : Himal Creation